खोलाले बगाउँदा दुई बालक बेपत्ता



पोखरा,साउन ३० । पोखरामा विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–१४ विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिकै खोलाले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बेपत्ता हुने बालकको नामथर र ठेगाना खुलेको छैन। उनीहरू अन्दाजी १४/१५ वर्षका रहेको प्रारम्भिक जानकारी छ।

दिउँसो १० जनाको समूहमा रहेका बालकहरू खोला तर्ने क्रममा आठ जना सकुशल पारि पुगेका थिए भने दुई जनालाई खोलाले बगाएको सूचना प्रहरीले प्राप्त गरेको हो। सूचना प्राप्त भएलगत्तै प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार सुरु गरेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट २१ जना प्रहरी खोजीमा खटिएका छन्। यस्तै, सशस्त्र प्रहरी बल बेसक्याम्प कुँडहरबाट नौ जना गोताखोरसहितको टोली पनि खोजीमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता बालकको खोजी जारी रहेकाले घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्