कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश



काठमाडौं,साउन ३० । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन तथा प्रस्ताव पेश भएका छन्। काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलाको बन्दसत्रमा विधान संशोधनलगायतका विभिन्न प्रस्ताव छलफलका लागि पेश गरिएको हो।

बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्ने नेताकार्यकर्तालाई विधि विपरीत अपमानित गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ।

यस्तै, नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणापत्र पेश गर्दै सामान्यतया एक व्यक्ति एकपटकमा एक पदमा मात्र जिम्मेवारीमा रहन सक्ने गरी आवश्यक व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ।

बैठकमा नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आर्थिक तथा सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रतिवेदन र एनपी साउदले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। बन्दसत्रमा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि छलफल गरी आइतबार आवश्यक निर्णयसहित पारित गरिने नेता मोहन बस्नेतले जानकारी दिनुभयो।

यसैबीच, कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रियामै त्रुटि रहेको संस्थापनइतर समूहका नेताहरूले दाबी गरेका छन्। उनीहरूले केन्द्रीय कार्यसमितिको निर्णयबिना सभापति वा महामन्त्रीले मात्र चाहेर विशेष महाधिवेशन बोलाउन वा त्यससम्बन्धी प्रस्ताव पारित गर्न नसकिने तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्