नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा एकैदिन ५ लाख २३ हजार रुपैयाँभन्दा बढी भेटी संकलन
नुवाकोट,साउन ३० । नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा शनिबार एकैदिन ५ लाख २३ हजार ५१ रुपैयाँ भेटी संकलन भएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार संकलित भेटीमध्ये क्यूआरमार्फत २ लाख ६ हजार १ सय ११ रुपैयाँ र मध्यान्ह आरतीबाट १ लाख १२ हजार ८ सय ३५ रुपैयाँ प्राप्त भएको छ।
यसैगरी लिखु गाउँपालिका–खानीगाउँ निवासी पूर्णलाल श्रेष्ठले हवन कुण्ड निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको कोषले जनाएको छ।
दुप्चेश्वर धामको भेटी प्रत्येक दिन साँझ ५ बजे गणना गर्ने गरिएको छ। समय अनुकूल हुने इच्छुक महानुभावलाई भेटी गणना गर्ने स्थानमा सहभागी हुन कोषले आग्रह गरेको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भेटी गणनालाई पारदर्शी बनाउन इच्छुक सर्वसाधारणलाई प्रत्यक्ष सहभागिताको अवसर दिइएको हो।

