टोखा १ मा आयोजित बृहत् स्वास्थ्य शिविरबाट १५० जना लाभान्वित
काठमाडौं,साउन ३० । काठमाडौंको टोखा नगरपालिका–१ स्थित पब्लिक माध्यमिक विद्यालय परिसरमा आयोजित बृहत् स्वास्थ्य शिविरबाट १५० जना वडावासी लाभान्वित भएका छन्।
टोखा नगरपालिका पूर्व जनप्रतिनिधि फोरमको आयोजना तथा वडा नं. १ को कार्यालय र आधारभूत स्वास्थ्य सेवा केन्द्रको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा स्थानीय वडावासीले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय सेवा लिएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि, समाजसेवी, अग्रज व्यक्तित्वसँगै अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीको सहभागिता रहेको थियो।
पूर्व जनप्रतिनिधि फोरमले शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिने वडावासी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। फोरमका सचिव श्रीकृष्ण अधिकारीले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिँदै सहकार्य र सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाए ।
स्वास्थ्य शिविरले स्थानीयवासीलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको अधिकारीले बताए ।

