जाजरकोटमा पहिरोले घर तथा टहरा भत्काउँदा ७ जना घाइते, २ जना बेपत्ता
जाजरकोट,साउन ३० । जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा टहरा भत्काउँदा ७ जना घाइते भएका छन् भने २ जना सम्पर्कविहीन भएका छन्।
पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको कच्ची घर तथा सोही नगरपालिका–३ का भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरा पूर्ण रूपमा क्षति भएका छन्।
घाइतेमध्ये भेरी नगरपालिका–२ रिसाङका करिब ६० वर्षीय रामबहादुर शाहीको अवस्था गम्भीर रहेको छ। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि उहाँलाई नेपालगञ्ज रिफर गरिएको छ। सोही स्थानका करिब ४५ वर्षीय सिद्धिबहादुर कामीको अवस्था सामान्य रहेको र उहाँलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।
भेरी नगरपालिका–२ चिसापानीकी करिब ५७ वर्षीया भद्राकली कार्कीको अवस्था पनि गम्भीर रहेको छ। जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उहाँलाई सुर्खेत रिफर गरिएको छ।
यस्तै, भेरी–२ डौरीकाँडाका करिब ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक र ५२ वर्षीय केदार कार्की घाइते भएका छन्।
पहिरोपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाकी करिब ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन भएका छन्।
घटनास्थलतर्फ जाने बाटोमा समेत पहिरो गएर अवरुद्ध भएपछि सुरक्षाकर्मीको टोली पैदलै घटनास्थलतर्फ गएको छ। घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेलाई अस्पताल पठाउने, थप क्षतिको विवरण संकलन गर्ने तथा आवश्यक उद्धार कार्य गरिरहेको जनाएको छ।

