मिथिलामा सुरु भयो झुलनोत्सव, झुलागीतले गुञ्जिए मठमन्दिर



महोत्तरी,साउन ३१ । साउन शुक्ल तृतीयासँगै मिथिलाको प्रसिद्ध सांस्कृतिक पर्व झुलनोत्सव सुरु भएको छ । पर्व सुरु भएसँगै महोत्तरीसहित मिथिला क्षेत्रमा विष्णु–लक्ष्मी भक्तिका झुलागीत गुञ्जिन थालेका छन् ।

‘सखी हे, झुला पडल फुलबगियाक डार, सीतासँग झुलथी रघुबर, मन हरषित अपार !’ जस्ता झुलागीतसँगै मठमन्दिरमा भक्तजनको चहलपहल बढेको छ । पर्वका क्रममा विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर भक्तिगीत गाउँदै झुलाउने गरिन्छ ।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ तथा मन्दिर, जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीलगायतका स्थानमा झुला महोत्सवको विशेष रौनक छाएको छ । शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट प्रतिमालाई डोलीमा राखेर बाजागाजासहित झुलाघरमा पुर्‍याएपछि पर्वको औपचारिक सुरुआत गरिएको हो ।

मटिहानीको झुलाघरमा अहिले महोत्तरीसहित सीमावर्ती भारतका विभिन्न मठमन्दिरबाट समेत प्रतिमा ल्याइएको छ । पर्व अवधिभर साधुसन्त तथा श्रद्धालु भेला भएर भजनकीर्तन गर्ने, झुलागीत गाउने र झुला हल्लाउँदै भक्तिभाव प्रकट गर्ने गर्छन् । झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाउने परम्परा छ ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार बालरूपका भगवान् र भगवतीलाई झुलनामा झुलाउने परम्परासँग यो पर्व जोडिएको छ । उहाँका अनुसार भगवान् रामलाई माता कौशल्या र भगवान् कृष्णलाई माता यशोदाले बाल्यकालमा कोक्रामा हल्लाएको सम्झनासमेत झुलनोत्सवमा गरिन्छ ।

झुलनोत्सव मिथिला क्षेत्रमा प्राचीन समयदेखि मनाइँदै आएको मानिन्छ । रामको जन्मभूमि अयोध्या र कृष्णको बाललीलास्थल वृन्दावनको परम्पराबाट यो पर्व मिथिलामा भित्रिएको विश्वास छ । जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँ रामलाई प्रसन्न गराउने मैथिल परम्परासँग पनि यो पर्व जोडिएको बताइन्छ ।

मिथिला परम्पराअनुसार झुलनोत्सव साउन शुक्ल तृतीयाका दिन सुरु भएर साउन पूर्णिमामा सम्पन्न हुन्छ । जनकपुरधाममा पर्व सुरु गर्दा मणिपर्वतको पूजा गर्ने चलनसमेत रहेको छ । मटिहानीमा भने छुट्टै झुलाघरमा विष्णु–लक्ष्मीका प्रतिमा ल्याएर झुलाउने गरिन्छ ।

साउन पूर्णिमाका दिन झुलनाको डोरी चुडालेर पर्व समापन गर्ने परम्परा छ । मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिका अनुसार साउनमा मनाइने मधुश्रावणी, झुला, नागपञ्चमी र रक्षाबन्धनजस्ता पर्वले मिथिलामा वर्षभरिका चाडपर्वको सुरुआत भएको संकेत गर्छन् ।

मिथिलामा झुलनोत्सव धार्मिक आस्था, भक्ति र समर्पणसँगै लोकसंस्कृति तथा सामूहिक मनोरञ्जनको महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्