जाजरकोटमा पहिरोले घर भत्किँदा १० जना घाइते, तीन जना सम्पर्कविहीन
जाजरकोट,साउन ३१ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घर भत्किएको तथा बस्ती जोखिममा परेको जानकारीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली उद्धार तथा खोजीका लागि परिचालन गरिएको छ।
पहिरोले भेरी नगरपालिका–३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना आफन्तको घरमा आश्रय लिएर बसेका छन्। यस्तै, सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा भने मानिस बसोबास नगर्ने जनाइएको छ।
पहिरोमा परी घाइते हुनेमा भेरी–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, भेरी–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की, भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक रहेका छन्।
यस्तै, भेरी–२ का करिब ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, रिसाङकी लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाही र सोही स्थानकी ४५ वर्षीया सुन्तली चदरा पनि घाइते भएका छन्।
घाइतेमध्ये रामबहादुर शाही, भद्राकली कार्की र केदार कार्कीलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि क्रमशः नेपालगञ्ज र सुर्खेत रिफर गरिएको छ। अन्य घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन तीनै जनाको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ। घटनास्थलको अवस्थाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

