देशभर मनसुनी गतिविधि सक्रिय, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं, साउन ३१ । मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली रहने तथा विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको महाशाखाले जनाएको हो।
हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले चेतावनी दिएको छ। भारी वर्षाको सम्भावना रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहन सक्ने महाशाखाले जनाएको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र महाशाखाबाट जारी हुने मौसमसम्बन्धी सूचनामा अद्यावधिक भइरहन आग्रह गरिएको छ।

