जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्यो, १० जनामा संक्रमण पुष्टि



झापा, साउन ३१ । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिस संक्रमितको संख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन। हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित १० जनामध्ये दुई जना उपचाररत छन् भने तीन जना उपचारपछि घर फर्किएका छन्। संक्रमितमध्ये सात महिनाका एक बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो।

जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भएकाले वर्षायाममा यसको जोखिम बढ्ने गर्छ। संक्रमणबाट बच्न घर वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिने तथा आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्