रोल्पामा पहिरोले घर पुरिँदा ७२ वर्षीया महिलाको मृत्यु
रोल्पा, साउन ३१ । रोल्पाको लुङ्ग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा गएराति परेको अविरल वर्षापछि घरमाथिबाट पहिरो खस्दा स्थानीय ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार पहिरोले घर पुरिएको सूचना बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौरमा प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।
प्रहरी टोली घटनास्थल पुग्दा गुरुङ घरभित्र सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर च्यापिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनलाई पहिरोबाट निकालिए पनि मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

