भगवानको भरोसामा यात्रा गर्दै मुगुम कार्मारोङका नागरिक



मुगु, साउन ३१ । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासी जोखिमयुक्त भिरको साँघुरो गोरेटो बाटो हुँदै भगवान्को भरोसामा यात्रा गर्न बाध्य छन्। गाउँपालिका अझै सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन नसक्दा स्थानीयवासी, कर्मचारी तथा सेवाग्राहीले ज्यानको जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ।

गमगढीदेखि गाउँपालिकाको केन्द्र पुलुसम्म पुग्ने मुख्य बाटो कर्णाली नदीको किनार हुँदै अग्ला भिर, कडा चट्टान र साँघुरा घुम्तीबाट जाने गरेको छ। सामान्य अवस्थामा समेत जोखिमपूर्ण रहेको यो बाटो वर्षायाममा झनै जोखिमपूर्ण बन्छ। पहिरो खस्ने, माथिबाट ढुंगा झर्ने र कतिपय स्थानमा बाटो नै बगाउने भएकाले यात्रुहरू त्रासमा आवतजावत गर्नुपर्ने स्थानीयवासी बताउँछन्।

मुगुम कार्मारोङ–६ रिउसका टासिकामी दैनिक ज्यालादारी काम गर्नुहुन्छ। सवारीसाधन पुग्ने स्थान छायलसम्म पुगेर भारी बोकी रिउस तथा आसपासका बस्तीमा सामान पुर्‍याउन उहाँ दैनिक यही जोखिमपूर्ण बाटो प्रयोग गर्नुहुन्छ।

“बेलुका घर पुगिन्छ कि पुगिँदैन भन्ने डर हुन्छ। बाटोमा भगवान्को नाम जपेर हिँड्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो। मुगुम कार्मारोङ–२ का स्थानीय साङ्मगुम लामाका अनुसार वर्षायाममा बाटोको अवस्था झनै कठिन हुन्छ। माथिबाट पहिरो र ढुंगा खस्ने तथा तल कर्णाली नदीको बहाव बढ्ने भएकाले यात्रुहरू त्रासैत्रासमा यात्रा गर्नुपर्ने उहाँले बताउनुभयो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिराज बुढाका अनुसार साँघुरो बाटो, उकाली–ओराली, कडा चट्टान र पहिरोका कारण कर्मचारी तथा सेवाग्राहीसमेत जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। “कुन बेला के हुन्छ भन्ने डरैडरमा यात्रा गर्नुपर्छ। गाउँपालिका सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयदेखि कर्मचारीसम्म सबैले जोखिम मोलेर हिँड्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो।

गाउँपालिका–८ स्थित माग्री डाँडा यात्राका लागि अझ जोखिमपूर्ण क्षेत्र मानिन्छ। कडा चट्टानबीचको साँघुरो बाटो हुँदै करिब एक घण्टाको उकालो पार गर्नुपर्ने भएकाले यात्रुहरू त्रसित हुने गरेका छन्। माग्री डाँडाको चट्टान फोडेर बाटो विस्तार गर्न सके गाउँपालिकाको केन्द्रसम्मको यात्रा सहज हुने भए पनि कडा चट्टानका कारण सडक निर्माणमा समस्या भइरहेको बुढाले बताउनुभयो।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार मुगुम कार्मारोङ अझै केन्द्र सरकारको सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन। वर्षायाममा पुलु बजार आसपासमै पहिरो तथा ढुंगा खस्ने जोखिम रहने गरेको उहाँले बताउनुभयो। “साउनदेखि भदौको दोस्रो सातासम्म कर्णाली नदीको बहाव बढ्ने र माथिबाट ढुंगा खस्ने डर हुन्छ। त्यसैले यहाँका नागरिकले निकै सास्ती र त्रासका बीच आवतजावत गर्नुपर्ने बाध्यता छ,” अध्यक्ष लामाले भन्नुभयो।

मुगुम कार्मारोङ–२ का स्थानीय छेजुम कार्मा लामाले बाटोको अवस्था सुधार नहुँदासम्म यात्रा जोखिमपूर्ण नै रहने बताउनुभयो। “माथिबाट पहिरो र ढुंगा खस्छ, तल कर्णालीको बहाव बढ्छ। कुन बेला ठूलो विपद् आउँछ भन्ने ठेगान हुँदैन। अहिले त सबै कुरा भगवान्को भरोसामा छ,” उहाँले भन्नुभयो।

स्थानीयवासीले गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न प्राथमिकताका साथ सडक निर्माण गर्न तथा हाल प्रयोग भइरहेको जोखिमयुक्त गोरेटो बाटोलाई तत्काल सुरक्षित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्