भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै



काठमाडौँ, साउन ३१ । नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले विशेष समारोहबीच उहाँलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने भ्रमणका लागि आइतबार नेपाल आउन लाग्नुभएको हो।

नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गर्ने परम्परा सात दशकभन्दा लामो समयदेखि कायम छ। विसं २००७ मा भारतीय सेनाका तत्कालीन फिल्ड मार्सल केएम करिअप्पालाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिएसँगै यो परम्परा सुरु भएको थियो।

दुई देशका सेनाबीच विपत् व्यवस्थापन, सैनिक तालिम, संयुक्त अभ्यास तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ। सन् २०११ देखि नेपाल र भारतबीच ‘सूर्य किरण’ संयुक्त सैन्य अभ्याससमेत सञ्चालन हुँदै आएको छ।

नेपाली सेनाका प्रधानसेनापति सिग्देलले यसअघि भारत भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ स्थल सेनाध्यक्षको दर्जा ग्रहण गरिसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्