नुवाकोट बेलकोटगढीका संस्थापक मेयर राजेन्द्ररमण खनालको निधन
नुवाकोट, साउन ३१ । बेलकोटगढी नगरपालिकाका संस्थापक मेयर तथा नेकपा एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको निधन भएको छ।
बेलकोटगढी नगरपालिका–१२ स्थायी घर भएका खनालको आइतबार दिउँसो निधन भएको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो। उहाँ हाल तारकेश्वर नगरपालिका–फुटुङमा बस्दै आउनुभएको थियो।
खनाल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट बेलकोटगढी नगरपालिकाको पहिलो मेयरमा निर्वाचित हुनुभएको थियो। लामो समयदेखि अर्बुद रोगबाट पीडित उहाँ केही समययता बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उपचाररत हुनुहुन्थ्यो।
अध्यक्ष मैनालीका अनुसार खनालको आइतबार दिउँसो १ः३० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

