रुख ढल्दा नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध
नुवाकोट,साउन ३१ । नुवाकोटमा चौगडा सबस्टेसनबाट प्रसारण हुने ३३ केभी लाइनमा रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।
ठेडीखोलामा रुख ढलेर विद्युत लाइनका तार तथा पोलमा क्षति पुगेपछि छहरे प्रशाखाअन्तर्गतका शिवपुरी, लिखु, पञ्चकन्यासहितका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण छहरे प्रशाखाले जनाएको छ।
विद्युत सेवा अवरुद्ध भएपछि ग्राहकमा परेको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। क्षतिग्रस्त लाइन तथा पोलको मर्मत र पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको छ।
मर्मत कार्य सम्पन्न भएपछि यथाशीघ्र विद्युत सेवा पुनःसुचारु गरिने प्राधिकरणको छहरे प्रशाखाले जनाएको छ।

