नुवाकोटमा श्रमदानबाट डम्फू पार्क बनाउने हर्क साम्पाङको योजना, भन्छन् – कुन ठाँउ बनाउने ?



नुवाकोट, भदौ १ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् बहालवाला सांसद हर्क साम्पाङ उर्फ हर्कराज राईले नुवाकोटमा श्रमदानबाट डम्फू पार्क निर्माण गर्ने मनसाय सार्वजनिक गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले नुवाकोटमा श्रमदानबाट डम्फू पार्क बनाउने सोच रहेको भन्दै त्यसका लागि उपयुक्त स्थान उपलब्ध गराइदिन आग्रह गरेका हुन्। उनले स्थान उपलब्ध गराउन आग्रह गर्दै सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन्।

साम्पाङको यो प्रस्तावसँगै सामाजिक सञ्जालमा भने नुवाकोटमा डम्फू पार्क कहाँ बनाउने भन्ने विषयमा बहस सुरु भएको छ। केहीले पञ्चकन्या गाउँपालिकास्थित घ्याङस्वारा पार्कसँगै डम्फू पार्क निर्माण गर्न सुझाव दिएका छन् भने केहीले धार्मिक तथा पर्यटकीय महत्व बोकेको दुप्चेश्वर धाम आसपास निर्माण गर्न उपयुक्त हुने धारणा राखेका छन्।

कतिपयले भने नुवाकोटको आफ्नै ठाउँमा पार्क निर्माण गर्ने भए एक सातादेखि एक महिनासम्म श्रमदान गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्। यसले साम्पाङको श्रमदानमा आधारित अभियानप्रति स्थानीय तहमा देखिएको चासो र उत्साहलाई समेत झल्काएको छ।

डम्फू तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको बाजा भएकाले पार्क निर्माण भए यसले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ। स्थान छनोट र निर्माणको स्वरूपबारे भने सम्पाङले खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्