नुवाकोटको सुइरेचौरमा स्वास्थ्य शिविर, विद्यार्थी र अभिभावकको स्वास्थ्य परीक्षण
नुवाकोट, भदौ १ । शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित श्री पञ्चकन्या भूमे आधारभूत विद्यालय सुइरेचौरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालसिंह तामाङको सभापतित्व तथा शिवपुरी गाउँपालिका–७ का वडाध्यक्ष वीरबहादुर तामाङको प्रमुख आतिथ्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।शिविरमा झन्डै ७० जना विद्यार्थी तथा अभिभावकको स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रममा शिवपुरी गाउँपालिका–७ सुनखानी स्वास्थ्य चौकीका प्रमुख बद्रीप्रसाद मैनाली विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आकस्मिक विभागका प्रमुख चिकित्सक राजीव राज थापालियाको नेतृत्वमा आएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सहभागीको स्वास्थ्य परीक्षण गरेको थियो।
त्यस्तै, जेनेसा एसोसिएसन फ्रान्सका निर्देशक डानियल लार्तिग र उहाँको टोली तथा चेन्ज टुगेदर नेपालका निर्देशक चिन्तन सिलवालको समेत कार्यक्रममा सहभागिता रहेको थियो। शिविरका क्रममा बाँकी रहेका औषधि वडाध्यक्ष वीरबहादुर तामाङको रोहबरमा स्वास्थ्य चौकीका प्रमुख बद्रीप्रसाद मैनालीलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको आयोजकले जनाएको छ।
स्थानीयस्तरमै स्वास्थ्य सेवा र सचेतना पुर्याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो।

