आजदेखि नियमित प्रक्रियाबाट ग्यास बिक्री वितरण हुने
काठमाडौँ, भदौ १ । नेपाल आयल निगमले आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार खाना पकाउने ग्यासको बिक्री वितरण हुने जनाएको छ।
निगमले आइतबार सूचना जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन निगमले उद्योगीलाई दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिन्डरको सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म उपलब्ध गराउन निर्देशन दिएको छ।
त्यस्तै, बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसमेतको विवरण दैनिक रूपमा तयार पार्नुपर्नेछ। उक्त विवरण सम्बन्धित ग्यास उद्योगमा बुझाउनुपर्ने र उद्योगले सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले अत्यावश्यक घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री वितरण गर्न आग्रह गरेको छ। साथै, ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सहजीकरण गर्न गृह मन्त्रालयमार्फत अनुरोध गरिएको जनाएको छ।
ग्यास वितरणको प्रभावकारी अनुगमनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समेत समन्वय गरिएको छ।निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीले ग्यास वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

