विपद्मा उद्धार र राहतमा खटिन कांग्रेसको आफ्ना सदस्यलाई निर्देशन
काठमाडौँ, भदौ १ । नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा विपद्का घटना बढिरहेका बेला पार्टीका सम्पूर्ण सदस्यलाई उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा तत्काल परिचालित हुन निर्देशन दिएको छ।
कांग्रेसले आफ्नो नेतृत्वमा रहेका प्रदेश तथा स्थानीय सरकारलाई यसअघि नै विपद्का घटनामा उद्धार, राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको जनाएको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा शनिबार राति अविरल वर्षापछि आएको पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
बैठकले पहिरोमा परी घाइते भएकाहरूको तत्काल उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, घटनाबाट घरबारविहीन भएका तथा थप पहिरोको जोखिमका कारण विस्थापित भएका ७० भन्दा बढी परिवारको तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, कालीकोटलगायत पहाडी जिल्लामा पहिरोका कारण धेरै परिवार घरबारविहीन भएको भन्दै विस्थापित नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापित गरी आवश्यक राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
आइतबारको बैठकमा १२ जना नेताले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका थिए। छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
आइतबारको बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र उदयशम्शेर राणा तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य र प्रेमबहादुर खड्काले धारणा राखेका थिए।

