आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्बिर टाँसिँदै



काठमाडौँ, भदौ १ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष अधिकमासका कारण सौरमासअनुसार भदौ १ गते परेको हो ।

नागपञ्चमीका अवसरमा घरको मूलढोकामाथि विधिपूर्वक नागको तस्बिर टाँस्ने र नागको पूजा गर्ने चलन छ । नागको पूजा गरेमा वर्षभर नाग, सर्प तथा बिच्छीलगायतका जीवबाट दुःख नहुने तथा अग्नि, मेघ र चट्याङको भयबाट समेत जोगिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताउनुभयो ।

वैदिककालदेखि नै नागपूजाको परम्परा रहेको मानिन्छ । नागलाई सर्पको राजा तथा पानीसँग सम्बन्धित शक्तिका रूपमा मानिने भएकाले वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख रहेकाले पनि यो दिन नागपूजाका लागि विशेष मानिन्छ ।

नागलाई भगवान् विष्णु र शिवसँग समेत जोडेर हेर्ने गरिन्छ । शिवले नागको माला धारण गर्ने तथा विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले सनातन परम्परामा नागलाई दैवी शक्तिका रूपमा पूजा गर्ने चलन रहेको छ । गणेशको एक हातमा नाग रहने तथा लक्ष्मण र बलरामलाई शेषनागको अवतारका रूपमा मानिने धार्मिक विश्वाससमेत छ ।

नागपञ्चमी मनाउने विषयमा विभिन्न किंवदन्ती प्रचलित छन् ।तीमध्ये एक किंवदन्तीअनुसार खेत खन्ने क्रममा किसानले नागका तीन बच्चा मारेपछि उनकी आमाले क्रोधित भएर किसान, उनकी श्रीमती र दुई छोरालाई मारिन् । किसानकी छोरीले नागिनीलाई पूजा गरी दूध चढाएर क्षमा मागेपछि नागिनी प्रसन्न भई मृत परिवारका सदस्यलाई जीवनदान दिएको र त्यही घटनाको सम्झनामा नागपूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।

आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने परम्परा छ । ब्राह्मण पुरोहितबाट पूजाआजा गरी नागको तस्बिर घरको ढोकामाथि टाँस्ने गरिन्छ ।नागपञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि रहेको छ ।

काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा आज विशेष पूजाआजा हुँदैछ । नागलाई दूध, अक्षता, दुबो, खीर, रोटी तथा विभिन्न परिकार चढाउने चलन छ ।

नागपञ्चमीसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको यामसमेत सुरु हुने मान्यता छ । प्रकृतिको सन्तुलनमा नाग, सर्पलगायत जीवको महत्वपूर्ण भूमिका रहेकाले धार्मिक परम्पराले यस्ता जीवप्रति संरक्षण र सम्मानको भावना विकास गरेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्