ओल्के पर्वसँगै बुढी हाल्ने परम्परा, मौलिक संस्कृति संरक्षणमा जोड



बैतडी, भदौ १। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ। पहाडी समुदायले हरेक वर्ष भदौ सङ्क्रान्तिका दिन मनाउने ओल्केलाई अन्य चाडपर्व सुरु हुने ‘जेठो पर्व’का रूपमा समेत लिने गरेका छन्।

‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। यस दिन ठूलाबडा, मान्यजन तथा ज्येष्ठ नागरिकलाई फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुडलगायतका सामग्री तथा विभिन्न परिकार दिएर सम्मान गर्ने चलन छ। आफन्त तथा इष्टमित्रसँग भेटघाट गरी मिठोमसिनो खाने परम्परासमेत रहेको स्थानीय संस्कृतिका जानकार करुणाकर भट्टले बताउनुभयो।

बैतडीका विभिन्न मन्दिर तथा शक्तिपीठमा नयाँ मकै तथा अन्य अन्नबाली चढाएर ओल्को दिने चलनसमेत छ। आफ्नो खेतमा फलेको नयाँ अन्न तथा फलफूल देवतालाई चढाएपछि मात्रै खाने परम्परा रहेको बैतडी पाटन–१० की सरस्वती अवस्थीले बताउनुभयो।

ओल्केसँगै ‘बुढी हाल्ने’ परम्परा पनि आजैदेखि सुरु हुन्छ। भदौ सङ्क्रान्तिका दिन गाउँ नजिकका चोक, चौतारा वा अग्ला टाकुरामा सल्लो, बाँस तथा विभिन्न बोटबिरुवाका हाँगाबिँगा र झ्याङ जम्मा गरी ‘बुढी’ बनाउने गरिन्छ। भदौ महिनाभरि गोठाला तथा बटुवाले त्यसमा हरियो बुट्यान र काँडाहरू थप्दै जाने र एक महिनापछि असोज सङ्क्रान्तिको साँझ सामूहिक रूपमा बुढी पोल्ने चलन छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा परम्परागत रूपमा मनाइने बुढी हाल्ने पर्वलाई धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको मौलिक पर्वका रूपमा लिइन्छ। धार्मिक विश्वासअनुसार भगवान् श्रीकृष्णले बालबालिकालाई दुःख दिने राक्षसी पुतनाको वध गरेपछि उनको शव जलाइएको घटनाको सम्झनामा यो परम्परा सुरु भएको मानिन्छ।

वर्षायाममा लाग्ने रोगव्याधि, पशुचौपायामा आउने विपत्ति तथा समाजमा रहेको नकारात्मक ऊर्जालाई बुढीसँगै जलाएर नष्ट गर्ने सामाजिक मान्यता पनि छ। तर आधुनिकता, बसाइँसराइ र नयाँ पुस्तामा परम्पराप्रतिको रुचि घट्दै जाँदा बुढी हाल्ने तथा पोल्ने मौलिक संस्कृति ओझेलमा पर्न थालेको छ। यस्तो अवस्थामा स्थानीय समुदाय, संस्कृति संरक्षणकर्मी र नयाँ पुस्ताको सहकार्यमा यस्ता परम्पराको संरक्षण तथा पुस्तान्तरण आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्