अशोकधाम मन्दिरमा भागदौड हुँदा सात भक्तजनको मृत्यु
एजेन्सी,भदौ १ । बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भएको भागदौडमा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ। मृत्यु हुने सबै महिला रहेको जिल्ला प्रशासनले जनाएको छ। घटनामा केही भक्तजन घाइते भएका छन्।
जिल्ला प्रशासनका अनुसार रेलवे हाल्ट नजिक विद्युत्को पोल ढलेपछि विद्युत् प्रवाह भइरहेको तार खसेको हल्ला फैलिएसँगै भीडमा त्रास उत्पन्न भएको थियो। त्यसपछि महिलातर्फको लाममा चाप बढ्दा भक्तजनहरू एकअर्कामाथि खसेका थिए।
लखीसरायका जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारका अनुसार भक्तजनको लाम अशोकधाम हाल्टसम्म पुगेको थियो र त्यहाँ दुईवटा रेलसमेत रोकिएका थिए। पुरुषतर्फको लामनजिक अचानक विद्युत्को पोल ढलेपछि तार खसेको र त्यसमा करेन्ट प्रवाह भइरहेको हल्ला फैलिएपछि करिब दुई मिनेटमै भागदौड भएको उहाँले बताउनुभयो।
लखीसरायका एसडीपीओ शिवम कुमारले सात जनाको मृत्यु भएको पुष्टि गर्दै घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। घटनास्थलमा बिहान ३ बजेदेखि नै प्रहरी तथा प्रशासनको टोली परिचालन गरिएको थियो।
बिहारका मन्त्री विजय कुमार सिन्हाले पनि विद्युत् प्रवाह भइरहेको तार खसेको हल्लाका कारण भागदौड भएको बताउँदै गलत हल्ला फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गरिने बताउनुभएको छ।
घाइतेहरूलाई लखीसराय सदर अस्पताल तथा नजिकका स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। घटनापछि प्रहरी, जिल्ला प्रशासन र आपत्कालीन सेवाका टोली परिचालन गरिएको छ।यसैबीच, बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। मुख्यमन्त्री सम्राट चौधरीले पीडित परिवारलाई सरकारको साथ रहेको बताउनुभएको छ।
साउन महिनाको तेस्रो सोमबारका अवसरमा शिव मन्दिरमा जल चढाउन ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले अशोकधाममा बिहानैदेखि अत्यधिक भीड लागेको थियो। केन्द्रीय मन्त्री राजीव रञ्जन सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।

