छहरे–टोखा सडकखण्डमा राति सवारी आवागमन बन्द



नुवाकोट, भदौ १। वर्षाका कारण लेदो र गेग्रानसहितको पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुन थालेपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने नुवाकोटको मुख्य मार्गअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

वर्षाका कारण सडकखण्डमा अचानक लेदो र गेग्रानसहितको पहिरो आउने क्रम बढेकाले मानवीय क्षति न्यूनीकरण तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभएको छ।

एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधन भने सञ्चालन गर्न पाउनेछन्। प्रशासनले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी र सरोकारवालालाई आग्रह गरेको छ।

विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्