नुवाकोट सूर्यगढीको फटपुरमा पहिरो, २५ परिवार जोखिममा
नुवाकोट, भदौ १। सूर्यगढी गाउँपालिका–२ स्थित फटपुर बस्तीमाथिबाट पहिरो खसेपछि करिब २५ परिवार जोखिममा परेका छन्। लगातार भइरहेको मनसुनजन्य वर्षाका कारण बस्तीमाथिको भू–भागबाट पहिरो बगेपछि स्थानीयवासी त्रसित बनेका छन्।
मनसुनजन्य विपद्का कारण क्षति पुगेका नुवाकोटका विभिन्न स्थानको शनिबार र आइतबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले स्थलगत अवलोकन तथा निरीक्षण गरेका थिए।
निरीक्षणपछि सम्बन्धित निकायले फटपुरलगायत जोखिमयुक्त क्षेत्रमा पहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन अघि बढाएको छ। जोखिम थप बढेमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
स्थानीयवासीले पहिरोको जोखिमका कारण बस्ती नै असुरक्षित बनेको भन्दै तत्काल जोखिम न्यूनीकरणका उपाय अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न माग गरेका छन्।

