भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न
काठमाडौं, भदौ १ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो।
नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरिएको हो।
तीन दिने नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुग्नुभएको थियो। उहाँको भ्रमणका क्रममा नेपाल–भारतबीचको सैनिक सम्बन्ध र आपसी सहकार्यका विषयमा समेत छलफल हुने जनाइएको छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली सेनाका उच्च पदस्थ अधिकारी र नेपालका लागि भारतीय राजदूतको उपस्थिति थियो।

