भदौ १० गते प्रधानमन्त्री शाहसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुने
काठमाडौं, भदौ १। प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको जानकारी गराउनुभएको हो। प्रश्न सोध्न इच्छुक सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिवसमक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदले प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक–एक जना सांसद सहभागी हुनेछन् भने बाँकी ८ जना सांसद दलको हैसियतअनुसार छनोट गरिनेछ।
दलको हैसियतअनुसार सांसद छनोट हुने भएकाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका तुलनात्मक रूपमा बढी सांसदले प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने अवसर पाउनेछन्।
यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देशन दिनुभएको थियो।

