नुवाकोट पञ्चकन्यामा मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सुरु
नुवाकोट,भदौ २ । कर्मचारीलाई कामप्रति थप प्रोत्साहित गर्दै गाउँपालिकाको कार्यसम्पादन उत्कृष्ट बनाउने उद्देश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकाले मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सुरु गरेको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ देखि सुरु गरिएको कार्यक्रमअन्तर्गत साउन महिनाको उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गरिएको हो। साउन महिनाको उत्कृष्ट कर्मचारीका रूपमा राजस्व इकाइ प्रमुख, सहायक पाँचौँ रामप्रसाद खनाल छनोट भएका छन्।
खनाललाई गाउँपालिका उपाध्यक्ष विमला पाठक केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राईलगायतले कार्यक्रमबीच सम्मान गरेका हुन्।
गाउँपालिकाले कर्मचारीको कार्यसम्पादनमा थप उत्साह र जिम्मेवारीबोध बढाउने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने जनाएको छ। कार्यक्रमले कर्मचारीमा हौसला बढ्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिका कार्यालयको विश्वास छ।

