महाधिवेशन रोक्ने वा अलमल्याउने छुट कसैलाई छैन : सभापति थापा
काठमाडौं,भदौ २ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि अघि बढ्ने स्पष्ट पार्दै महाधिवेशन रोक्ने वा अलमल्याउने छुट कसैलाई नभएको बताउनुभएको छ।
सभापति थापाले असोज १६ गतेका लागि निर्धारित महाधिवेशनको मिति यथावत् रहेको उल्लेख गर्दै तोकिएको समयमै महाधिवेशन प्रक्रिया अघि बढ्ने बताउनुभयो। पार्टीभित्र राजनीतिक असहमति राख्न सबैलाई छुट भए पनि महाधिवेशनको प्रक्रिया रोक्ने अधिकार कसैलाई नभएको उहाँको भनाइ छ।
“तपाईंहरूले राजनीतिक असहमति राख्न पाउनुहुन्छ। अधिवेशनमा आउनुस्, मलाई हराइदिनुस्। तर अधिवेशनको प्रक्रियामा भाग लिन्नँ, रोक्दिन्छु भन्न पाउनुहुन्न,” सभापति थापाले भन्नुभयो।
उहाँले वडा, क्षेत्र र जिल्ला तहका सभापतिहरूलाई महाधिवेशन प्रक्रिया अघि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो। कसैले प्रक्रिया रोक्न खोजे अर्को व्यक्तिले जिम्मेवारी लिएर भए पनि प्रक्रिया अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।
सभापति थापाको पछिल्लो भनाइले कांग्रेसभित्र संस्थापन र इतर समूहबीच देखिएको विवादका बीच महाधिवेशन प्रक्रिया कुनै पनि हालतमा प्रभावित हुन नदिने उहाँको रणनीति स्पष्ट भएको छ।
यसैबीच, संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा विभिन्न तहका नेता सहभागी भएको तथा संस्थापन पक्षका केही नेता पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न गएको विषयलाई सभापति थापाले सामान्य रूपमा लिन आग्रह गर्नुभएको छ।
आफू पनि पूर्वसभापति देउवालाई भेट्न जाने बताउँदै उहाँले पार्टीभित्र पूर्वसभापतिलाई भेट्नु सामान्य र परम्परागत विषय भएको बताउनुभयो। “म पनि जान्छु। आज जान्छु। गएर भेट्छु। यो त हाम्रो पार्टीको परम्परा हो। हाम्रो घरभित्रको कुरा हो,” उहाँले भन्नुभयो।

