घर घरमै चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा



ललितपुर, भदौ २ । ललितपुर महानगरपालिकाले फोन गरेको १५ मिनेटभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स बिरामीको घरमै पुग्ने निःशुल्क सेवा सुरु गरेको छ।

महानगरपालिकाका अनुसार एम्बुलेन्समा चिकित्सक, पारामेडिक्स, आकस्मिक औषधि, अक्सिजन तथा आवश्यक उपकरण हुनेछन्।

घरमै पुगेर बिरामीको प्रारम्भिक उपचार गरिने र अस्पताल लैजानुपर्ने भए बिरामीको इच्छाअनुसार उपत्यकाका जुनसुकै अस्पतालमा पुर्‍याइनेछ।

सेवाका लागि दुईवटा भेन्टिलेटरसहितका एम्बुलेन्स र छ जना चिकित्सक तथा छ जना पारामेडिक्स परिचालन गरिएको छ। फोन प्राप्त भएपछि बिरामीको अवस्थाअनुसार टोली परिचालन गरिने र घर पत्ता लगाउन जिपिएस प्रणाली प्रयोग गरिने महानगरपालिकाले जनाएको छ।

सेवालाई प्रभावकारी बनाउन वीर, पाटन र त्रिवि शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुखलाई सल्लाहकारका रूपमा राखिएको छ। सोमबारदेखि सुरु भएको सेवाको उद्घाटन गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आकस्मिक स्वास्थ्य सेवामा समयको विशेष महत्त्व रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्