मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
काठमाडौं,भदौ २ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न नागरिकलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा विवरण अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ।
कुनै मतदाताको मृत्यु भएको भए निजका एकाघर परिवारका सदस्य वा अन्य व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र जानकारी गराउन आयोगले अनुरोध गरेको छ।
मतदाता नामावली निरन्तर अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष सम्बन्धित रहेकाले यस कार्यमा सबै नागरिकको सहयोग प्राप्त हुने आयोगले विश्वास व्यक्त गरेको छ।

