मकवानपुरको जुरीखेलमा स्कारपियो दुर्घटना, ६ जना घाइते



मकवानपुर, भदौ २। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–९ का करिब ५७ वर्षीय गोकर्ण डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको छ।

दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका करिब ५१ वर्षीय तारादत्त बडु घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बडुकी श्रीमती करिब ४९ वर्षीया लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

त्यस्तै, बडुका करिब २५ वर्षीय छोरा रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ भने उनकी दिदी करिब ३१ वर्षीया रिता बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनापछि घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्