जुरिखेत स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते



मकवानपुर,भदौ २ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मङ्गलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइतेमध्ये ४९ वर्षीया लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार लक्ष्मीको छाउनी अस्पतालमा बिहान १०ः२९ बजे मृत्यु भएको हो। उहाँको शव अस्पतालमै राखिएको छ।

लक्ष्मी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुनुहुन्छ। दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, उहाँका छोरा रितेन्द्र बडु, दिदी रीता बडु तथा चालक छुनिलाल चौधरी घाइते हुनुभएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चालक चौधरी र रजिस्ट्रार बडुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो।

प्रहरीका अनुसार दुर्घटनापछि घाइतेको उद्धार गरी प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको थियो। दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्