बाढीपहिरोको क्षति न्यूनीकरणदेखि ग्यास आपूर्तिसम्म सरकारको ध्यानाकर्षण
काठमाडौँ,भदौ २ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर भइरहेको अविरल वर्षाका कारण बाढीपहिरोबाट जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउँदै जोखिममा रहेका नागरिकको सुरक्षा, उद्धार तथा घाइतेको उपचारमा विशेष ध्यान दिन माग गर्नुभयो।
सांसदहरूले देशभर ग्यासको अभाव देखिएको भन्दै सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो। ग्यास अभावको दीर्घकालीन समाधानका लागि भान्सालाई विद्युतीय चुलोतर्फ लैजाने नीति अवलम्बन गर्नुपर्नेमा पनि उहाँहरूले जोड दिनुभयो।
डोल्पा सडक मार्गबाट विच्छेद भएको तथा भेरी करिडोर अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा समस्या भएको भन्दै सांसदहरूले वैकल्पिक मार्गको व्यवस्था गर्न माग गर्नुभयो। अविरल वर्षाका कारण सङ्खुवासभाका विभिन्न स्थानमा विद्युत् प्रसारण लाइन र सञ्जालका टावरमा अवरोध हुँदा स्थानीय नागरिक सञ्चार सेवाबाट वञ्चित भएको विषय पनि बैठकमा उठाइएको थियो।
यसैगरी, पछिल्ला वर्षमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै दुर्घटना न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो।साँघुरा तथा व्यस्त सडक, चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन र मोबाइल फोन प्रयोग गरी सवारी चलाउनेजस्ता कारण दुर्घटना बढिरहेको उहाँहरूको भनाइ थियो।
झापामा भारतबाट ठूलो बथानसहित नेपाल प्रवेश गरेका हात्तीका कारण स्थानीय नागरिक त्रसित बनेको विषय पनि बैठकमा उठेको थियो। हात्तीले धानबाली नष्ट गर्नुका साथै घर भत्काउने र जुनसुकै बेला आक्रमण गर्न सक्ने जोखिम रहेको भन्दै सांसदहरूले नागरिकको सुरक्षाका लागि तत्काल आवश्यक व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

