प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
काठमाडौँ,भदौ २ — प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणका क्रममा सेनाध्यक्ष सेठ आइतबार काठमाडौँ आउनुभएको हो। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो।
नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ।
सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो।

