ग्यास आपूर्ति सहज हुँदै, अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह
काठमाडौँ,भदौ २ — नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएको जनाएको छ। निगमले काठमाडौँ उपत्यकामा औसत मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार काठमाडौँ उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हुने गरेकोमा अहिले पाँचदेखि आठ हजार सिलिन्डर बढी आपूर्ति भइरहेको छ। उहाँले केही दिनमै ग्यासको अवस्था सामान्य हुने बताउनुभयो।
निगमका अनुसार आज भदौ २ गते काठमाडौँ उपत्यकाका २२ वटा ग्यास उद्योगबाट ४७ हजार ३८८ सिलिन्डर बिक्री हुँदैछन्। भदौ १ गते मात्रै ५२ हजार ५७६ सिलिन्डर बिक्री भएको थियो, जुन दैनिक औसत मागभन्दा करिब १५ हजार बढी हो। साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म उपत्यकामा तीन लाख नौ हजार ५५३ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ। यसअनुसार दैनिक औसत ४४ हजारभन्दा बढी सिलिन्डर बिक्री भएको देखिन्छ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री हुन थालेपछि आपूर्ति सहज भएको बताउनुभयो। उहाँका अनुसार अबको एक साताभित्र ग्यासको समस्या पूर्ण रूपमा समाधान हुने देखिएको छ। उद्योगी व्यवसायीका अनुसार अहिले ग्यास अभाव हुनुको मुख्य कारण आपूर्ति नभई विगतमा बाह्य कारणले आयात घट्दा अपनाइएको आधा भरिएको सिलिन्डर बिक्री प्रणालीको प्रभाव हो। गत फागुनमा आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिन्डर बिक्री सुरु गरेको थियो।
साउनमा ४० लाखभन्दा बढी सिलिन्डर बिक्री
निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक करिब एक लाख १० हजार सिलिन्डर बिक्री हुने गरेको छ। चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास आयात भई ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको छ।
यो अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा करिब २९ दशमलव ३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास अर्थात् ३१ लाख २० हजार ९८६ सिलिन्डर बिक्री भएको थियो।
यसैगरी आर्थिक वर्ष २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन ग्यास अर्थात् ३२ लाख २० हजार ७७५ सिलिन्डर बिक्री भएको निगमको तथ्याङ्क छ।
निगमका अनुसार गत चैतमा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात हुँदा विभिन्न उद्योगबाट ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिन्डर बिक्री भएका थिए। अघिल्लो वर्षको चैतमा ४८ हजार ३२७ मेट्रिक टन ग्यास आयात हुँदा ३४ लाख तीन हजार ३१० वटा पूरा भरिएका सिलिन्डर बिक्री भएका थिए।
वैशाखमा ३२ हजार ५६ मेट्रिक टन, जेठमा ३३ हजार ८४२ मेट्रिक टन र असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ४६ हजार ५०३, ४९ हजार ८१६ र ४७ हजार ९३३ मेट्रिक टन ग्यास आयात भएको थियो।

