नुवाकोटमा डेंगु रोकथामका लागि लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट अभियान
नुवाकोट,भदौ २ । नुवाकोटमा डेंगु तथा अन्य किटाणुजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ।
जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा सोमबार विदुर नगरपालिका–२ लोकतान्त्रिक चोकदेखि बट्टार हावाघरसम्म डेंगु सचेतना तथा लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट अभियान सञ्चालन गरिएको हो।
विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक वीरबहादुर बुडाऐर, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म हेडक्वार्टर नुवाकोटका सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश घिमिरे, विदुर नगरपालिकाका कर्मचारी तथा जनस्वास्थ्य कार्यालयका कर्मचारीसहित करिब ५५ जनाको सहभागिता थियो।
सामुदायिक–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको अभियानमा डेंगु रोकथाम तथा न्यूनीकरणसम्बन्धी सन्देशमूलक जिङ्गलमार्फत प्रचारप्रसारसमेत गरिएको जनाइएको छ।
अभियानमार्फत लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्नुका साथै डेंगुबाट बच्न अपनाउनुपर्ने सावधानीबारे स्थानीयवासीलाई सचेत गराइएको थियो।

