नुवाकोटका विभिन्न क्षेत्रमा बुधबार तीन घण्टा विद्युत सेवा बन्द हुने
नुवाकोट,भदौ २ । नुवाकोटको विदुर नगरपालिका–२ लोकतान्त्रिक चौतारामा बाटो विस्तारका क्रममा रुख कटान गर्नुपर्ने भएकाले बुधबार बिहान तीन घण्टा विद्युत सेवा बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार फिडर नम्बर ६ बन्द गरी रुख कटानको काम गर्नुपर्ने भएकाले भदौ ३ गते बिहान ६ बजेदेखि ९ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।
उक्त अवधिमा विदुर, ढुङ्गे, दम्की, बट्टार, बट्टार बसपार्क, हावाघर, गगटे, इनरपाटी, माझिटार, पिपलटार र तल्लो पिपलटारलगायतका क्षेत्रमा विद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको छ।
तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत लाइन तत्काल सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ। सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति नुवाकोट वितरण केन्द्रले क्षमा मागेको छ।


