हेटौँडामा खोलाले बगाउँदा आठ वर्षीया बालिकाको मृत्यु



मकवानपुर,भदौ २ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका अझै बेपत्ता छन्।

आज निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्कने क्रममा बासुदेव खहरे खोलामा बनेको लच्का तर्ने क्रममा चार जनालाई खोलाले बगाएको थियो। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजी तथा उद्धार कार्य अघि बढाइएको थियो।

खोलाले बगाएकामध्ये हेटौँडा–१९ बस्तिपुर निवासी दीप स्याङ्ताङकी करिब आठ वर्षीया छोरी रोसनी स्याङ्ताङलाई बगेको स्थानबाट करिब पाँच सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको थियो। उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका छन्।

यस्तै, सोही स्थानका टीकाराम भोलनकी करिब ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी करिब १२ वर्षीया छोरी बिनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

खोलाले बगाएकी सीताराम भोलनकी करिब १३ वर्षीया छोरी सीमा भोलन भने आफैँ बाहिर निस्कन सफल भएकी छन्। उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौँडा अस्पताल लगिएको जनाइएको छ।

बाढी तथा खोलाको बहावका कारण जोखिम बढेकाले स्थानीयवासीलाई सावधानी अपनाउन सुरक्षाकर्मीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्