छहरे–टोखा सडक रातको समयमा बन्द



नुवाकोट,भदौ ३ — वर्षाका कारण सडकमा पहिरो, लेदो तथा गेग्रान खस्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले छहरे–टोखा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो।

शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेकाले यात्रुको सुरक्षालाई ध्यानमा राखी अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। भदौ १ गते रातिदेखि लागू भएको उक्त व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिने तथा एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने बताउनुभयो। उहाँले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन र प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।

विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालयको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्