सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु



काठमाडौं,भदौ ३ । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच औपचारिक वार्ता सुरु भएको छ। महाअभियानले उठाएका विभिन्न मागको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु गरिएको हो।

सरकारले भदौ १ गते सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।

सरकारको आह्वानपछि महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँले पनि विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरी सरकारसमक्ष पठाएका थिए।

दुवै पक्षले वार्ता टोली गठन गरेसँगै महाअभियानले उठाएका माग तथा त्यसको समाधानका विषयमा औपचारिक संवाद अघि बढेको हो। वार्तामार्फत माग सम्बोधनका सम्भावित उपायबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्