सम्झौताको १० वर्ष बित्दा पनि मोटरेबल पुल अधुरै
मनाङ,भदौ ३ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि मोटरेबल पुल निर्माण सम्पन्न हुन सकेको छैन। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मस्र्याङ्दी नदीमाथिको पुल अधुरै रहँदा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ।
पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले हालसम्म करिब ७० प्रतिशत रकम भुक्तानी लिइसकेको छ। तर निर्माणको काम भने निकै सुस्त गतिमा भइरहेको छ।कार्यालय प्रमुख हरि थापाका अनुसार आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन।
पटक–पटक म्याद थपिए पनि पुल निर्माण पूरा नभएको कार्यालयले जनाएको छ। “भुक्तानी भइसकेको छ, तर पुलको बिम उठाउनेबाहेक अरू काम भएको देखिँदैन,” कार्यालय प्रमुख थापाले भन्नुभयो।
करिब चार करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको पुल विसं २०७३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।उक्त पुल माथिल्लो मनाङ पुग्ने मुख्य सडकमा पर्ने भएकाले स्थानीयवासीका साथै पर्यटकका लागि समेत महत्वपूर्ण मानिन्छ।
वडा नं ३ का वडाध्यक्ष कृष्णबहादुर लामाले ठेकेदार कम्पनीसँगै सम्बन्धित कार्यालयले पनि पुल निर्माणमा पर्याप्त चासो नदिएको आरोप लगाउनुभयो। पुल नबन्दा गाउँपालिका कार्यालय पुग्न स्थानीयवासीलाई लामो समय लाग्ने गरेको उहाँले बताउनुभयो।
स्थानीय मुखिया लामाका अनुसार पुल निर्माण भए चार–पाँच मिनेटमै गाउँपालिका कार्यालय पुग्न सकिने भए पनि अहिले लामो समय खर्चिनुपरेको छ। स्थानीयवासीले काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर नयाँ कम्पनीमार्फत पुल निर्माण अघि बढाउन माग गरेका छन्।
जिल्ला अनुगमनका क्रममा मनाङका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल निर्माण अघि बढाउन निर्देशन दिनुभएको छ। उहाँले पुल निर्माण सम्पन्न भएपछि मात्र मूल्याङ्कन गरी भुक्तानी दिन सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशनसमेत दिनुभएको छ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पटक–पटक सम्पर्क गरी निर्माण पूरा गर्न आग्रह गरे पनि ठेकेदार कम्पनीले चासो नदिएको बताउनुभयो। उहाँका अनुसार काम नगरेको कम्पनीलाई पटक–पटक म्याद थपेर काम गर्ने अवसर दिइएको छ।
पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय क्षेत्र मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण हुन नसक्दा स्थानीयवासीसँगै पर्यटकले समेत सास्ती भोग्नुपरेको बताउनुभयो। उहाँले पुललगायतका पूर्वाधार समयमै निर्माण भए स्थानीयवासी र पर्यटकको आवतजावत सहज हुने धारणा राख्नुभयो।

