चट्याङ लागेर तीन गाई र ११ बाख्रा मरे



मुगु,भदौ ३ । मुगुको सोरु गाउँपालिका–५ स्थित भदाली जंगलमा चट्याङ लागेर तीन गाई र ११ बाख्रा मरेका छन्।

मंगलबार दिउँसो करिब ४ बजे जंगलमा चराउन लगिएका पशुचौपायामाथि चट्याङ पर्दा स्थानीयवासीका गाई र बाख्रा मरेका हुन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार टोपबहादुर बुढा, बाचे नेपाली र गणेश बुढाका एक/एक गाई तथा पदमबहादुर शाहीका तीनसहित स्थानीयवासीका ११ बाख्रा मरेका छन्।

घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन तथा सर्जमिन मुचुल्का तयार गर्ने जनाएको छ।प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको नेतृत्वमा तीन जनाको टोली बुधबार बिहान घटनास्थलतर्फ जाने तयारी गरिएको छ।

प्रहरी हवल्दार देवेन्द्र खत्रीका अनुसार घटनास्थल प्रहरी चौकी सोरुबर्माबाट करिब छ घण्टाको पैदल दूरीमा पर्छ। मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले प्रहरी घटनास्थल पुगेपछि पशुचौपायाको मृत्यु र क्षतिको थप विवरण यकिन हुने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्