बासुदेव खोलामा बेपत्ता दुई बालिकाको खोजी पुनः सुरु
मकवानपुर,भदौ ३ । मकवानपुरको हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकाको खोजी बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ।
मंगलबार खोलाले बगाएका चार विद्यार्थीमध्ये रेशमा स्याङतान मृत फेला परेकी थिइन् भने सिमा बोलनको सकुशल उद्धार गरी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
खोलाले बगाएर बेपत्ता हुनेमा ११ वर्षीया सुमित्रा बोलन र १२ वर्षीया बिनिता बोलन रहेका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बासुदेव खोलासँगै करिब तीन किलोमिटर तल रहेको राप्ती खोलामा समेत खोजी कार्य भइरहेको छ।

