हेटौंडामा खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या दुई पुग्यो
हेटौंडा,भदौ ३ । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी बिनिता बोलनको शव बुधबार फेला परेको छ। शव भेटिएसँगै खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ।
बिनिताको शव घटनास्थलबाट करिब तीन किलोमिटर टाढा बासुदेव र राप्ती खोलाको दोभानमा फेला परेको स्थानीय रबिन ढकालले जानकारी दिए।
मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बासुदेव खोलाले चार विद्यार्थीलाई बगाएको थियो। बगाइएकामध्ये राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतानको शव यसअघि नै फेला परेको थियो। कक्षा ६ मा अध्ययनरत सिमा बोलनलाई घाइते अवस्थामा उद्धार गरी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
अर्की विद्यार्थी कक्षा ५ मा अध्ययनरत सुमित्रा बोलन अझै बेपत्ता छन्। उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्। खोजी टोलीले बासुदेव खोलासँगै राप्ती खोलातर्फ पनि खोजी गरिरहेको छ।

