अविरल वर्षाले पोखराको फिर्के पुल भत्कियो
पोखरा,भदौ ३ । गएराति परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–५ र ८ जोड्ने फिर्के पुल भत्किएको छ।
गण्डकी प्रदेश सभा, कृषि मन्त्रालय तथा रेडियो नेपाल प्रादेशिक कार्यालयतर्फ जाने सडकमा रहेको उक्त पुल लामो समयदेखि जोखिममा थियो। जोखिम बढेपछि करिब एक महिनाअघिदेखि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।
पुल भत्किएपछि पैदल यात्रासमेत कठिन भएको स्थानीयले बताएका छन्। पुलका भत्किएका कङ्क्रिट तथा अन्य संरचनाले फिर्के खोलाको पानीको बहावमा अवरोध पुर्याएपछि पानी जम्ने र थप क्षति हुनसक्ने जोखिम बढेको छ। स्थानीयले तत्काल भत्किएका संरचना हटाएर पानीको सहज निकासको व्यवस्था गर्न माग गरेका छन्।
पोखरा महानगरपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित वैकल्पिक आवतजावतको व्यवस्था गरिने बताउनुभयो।
उहाँका अनुसार करिब ५० वर्षअघि निर्माण भएको पुल १५ वर्षअघि पुनः मर्मत गरिएको थियो। पुल पूर्ण रूपमा भत्किएपछि अब नयाँ पुल निर्माण गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो।
नयाँ पुल निर्माणका लागि वडाको बजेट पर्याप्त नहुने भएकाले महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने वडाध्यक्ष बरालको भनाइ छ।

