पहिरोले वडा कार्यालयको भवन पुरियो
सोलुखुम्बु,भदौ ३ । लगातारको वर्षापछि आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका–३ को वडा कार्यालय भवन पुरिएको छ।
पछिल्ला केही दिनयता परेको निरन्तर वर्षाका कारण आएको पहिरोले वडा कार्यालय भवनमा बस्न नमिल्ने गरी क्षति पुर्याएको हो। पहिरोका कारण वडा कार्यालय रहेको क्षेत्र थप जोखिमपूर्ण बनेको छ।
वडा अध्यक्ष लाक्पा गेलु शेर्पाका अनुसार वडा कार्यालयसँगै रहेको अस्थायी प्रहरी चौकीसमेत जोखिममा परेपछि तत्कालका लागि सुरक्षित स्थानमा सारिएको छ। सम्भावित क्षति रोक्न प्रहरी चौकीलाई जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गरिएको उहाँले बताउनुभयो।
पहिरोले वडा कार्यालय भवनमा पुर्याएको क्षति तथा आसपासको जोखिम क्षेत्रको अवस्थाबारे थप मूल्याङ्कन भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो।
स्थानीय तहले वर्षाका बेला पहिरोको सम्भावना भएका जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा अनावश्यक आवतजावत नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ।

