बिजुलीको महसुल घटाउने सरकारको गृहकार्य तीव्र



काठमाडौं,भदौ ३। सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो।

नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा उत्पादन हुने बढी विद्युत् आन्तरिक रूपमा खपत बढाउने उद्देश्यले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी गरेको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज मन्त्रालयमा बस्दैछ।अपराह्न ४ बजे बस्ने बैठकमा महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन्।

संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढी भएर खेर गइरहेको अवस्थालाई ध्यानमा राख्दै आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको हो। विद्युत् खेर जाँदा प्राधिकरणले मासिक रूपमा नोक्सानी व्यहोर्नुपरेकाले ‘मौसमी महसुल’ मार्फत उपभोक्ता र उद्योगलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउने तयारी गरिएको उहाँले बताउनुभयो।

उद्योगलाई समेत वर्षायाममा सस्तो बिजुली उपलब्ध गराउने र त्यसबाट उत्पादन हुने वस्तु तथा सेवाको मूल्यमा उपभोक्तालाई कति सहुलियत दिन सकिन्छ भन्ने विषयमा समेत समन्वय भइरहेको शाहीले जानकारी दिनुभयो।

महसुल घटाएर विद्युत् खपत बढाउने तथा उद्योगमार्फत त्यसको लाभ उपभोक्तासम्म पुर्‍याउने विषयमा आजको बैठकमा थप छलफल हुने र छिट्टै निर्णय गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्