सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै



काठमाडौं,भदौ ३ । आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदै छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो ।

आजको दिन विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना दिवस, २०८३ मनाउने राष्ट्रिय सूचना आयोगले जनाइएको छ ।

विसं २०६४ साउन ५ गते सूचनाको हकसम्बन्धी कानुन संसद्बाट पारित भएको थियो ।  कानुन पारित भएको ३० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था ऐनमा गरिएकाले २०६४ भदौ ३ गतेदेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको हो । 

नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । 

लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकलाई व्यवहारमा उतार्दै यसको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले कानुन निर्माण गरिएको हो । 

सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व कायम गर्न तथा सुशासनको प्रत्याभूति गराउन सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ । 

नागरिकको यस हकको निर्बाध प्रयोगबाट मात्रै मुलुकमा दिगो विकास र जनमुखी शासन प्रणालीको सुदृढीकरण सम्भव हुने आयोगले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्