चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा



काठमाडौं,भदौ ३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ ।

केन्द्रका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार गत चैतदेखि साउनसम्म ९२४ सरकारी कार्यालयको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाक नलगाउने ६४५ जना र कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारी कारबाहीमा परेका हुन् ।

केन्द्रले अनुशासन उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि शासकीय सुधारका लागि अघि सारिएका एक सय बुँदे योजनामध्ये कर्मचारीको आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने विषयलाई केन्द्रले प्राथमिकतामा राखेको छ । सोहीअनुसार सरकारी कार्यालयको अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको केन्द्रले जनाएको छ ।

यस अवधिमा केन्द्रमा सरकारी कार्यालय तथा कर्मचारीसँग सम्बन्धित एक हजार २९८ उजुरी दर्ता भएका थिए । तीमध्ये एक हजार ११४ वटा अर्थात् ८५ दशमलव ८२ प्रतिशत उजुरी फर्छ्योट भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७२ प्रतिशत विन्दुले बढी हो ।

अघिल्लो वर्ष २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४ दशमलव १० प्रतिशत उजुरी फर्छ्योट भएका थिए ।

केन्द्रले सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन निगरानी तथा अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ । आगामी दिनमा छानबिन, निगरानी, अनुगमन, छड्के जाँच तथा अनुसन्धानमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र तथ्याङ्क विश्लेषणको प्रयोग विस्तार गर्ने केन्द्रको तयारी छ ।

त्यस्तै, हेलो सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य सरोकारवाला निकायसँगको समन्वय थप सुदृढ गर्ने तथा संशोधित भ्रष्टाचार निवारण ऐनसँग सामञ्जस्य हुने गरी केन्द्रसम्बन्धी नियमावली, निर्देशिका र कार्यविधि अद्यावधिक गर्ने तयारीसमेत गरिएको छ ।

गुनासो गर्न सकिने

केन्द्रले सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार तथा कर्मचारीको अनुशासनसम्बन्धी गुनासो फोनमार्फत समेत टिपाउन सकिने जनाएको छ । कर्मचारीले आचारसंहिता पालना नगरेको, काममा लापरबाही गरेको वा शङ्कास्पद सम्पत्ति राखेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा जानकारी गराउन सकिने प्रवक्ता भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्