रामेछापमा ६१ वर्षीया महिलामाथि जबरजस्ती करणी आरोपमा २१ वर्षीय युवक पक्राउ
रामेछाप,भदौ ३ । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।
रामेछाप नगरपालिका–४ तिलबारीकी ६१ वर्षीया महिलालाई आफ्नै घरमा जबरजस्ती करणी गरी फरार रहेको आरोपमा सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखेलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटना भदौ २ गते भएको थियो। बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए। घटना भएपछि उनी फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा भदौ ३ गते तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा बिसुंखेलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बिसुंखेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

