संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाह नजाने, परराष्ट्रमन्त्री खनालले नेपाली टोलीको नेतृत्व गर्ने



काठमाडौं,भदौ ३ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी नहुने हुनुभएको छ। महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय सरकारले गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको हो।

प्रधानमन्त्री शाह सहभागी नहुने भएपछि महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्नुहुने भएको छ।परराष्ट्र मन्त्रालयका अनुसार महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले सम्बोधन गर्ने तयारी छ।

नेपालबाट संयुक्त राष्ट्रसंघको महासभामा सामान्यतः प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने परम्परा छ। यद्यपि, विगतमा परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवको नेतृत्वमा समेत नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी भएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको औपचारिक उद्घाटन सेप्टेम्बरको दोस्रो साता न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्